ओलीका कारण लोकतन्त्र खतरामा छ : नेता पौडेल

  सोमबार २९, मङि्सर २०७७ ०६:२२

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले बताएका छन् । महेन्द्रनगरमा काँग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले ‘लोकतन्त्र विरोधी’ केपी ओलीका कारण गणतन्त्र धेरै दिन रहन नसक्ने बताएका हुन् ।

‘व्यवस्थालाई बदनाम गर्ने गरी व्यक्तिहरु जुन ढङ्गले हिडिरहेका छन् । त्यो ढङ्गबाट अगाडि बढ्दा व्यवस्था नै समाप्त हुन्छ,’ नेता पौडेलले भने, ‘केपी ओलीको पाराले नेपालको गणतन्त्र अब धेरै दिन रहन सक्दैन ।’ काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले प्रधानमन्त्री गणतन्त्र विरोधी रहेको आरोप लगाए ।

‘हिजो हामीले गणतन्त्रको नारा लगाउँदै गर्दा प्रधानमन्त्रीले भन्नुहुन्थ्यो बयलगाढा चढेर अमेरिका पुगिदैन । नेपालमा गणतन्त्र आउँदैन ।’ उनले भने, ‘गणतन्त्र विरोधी केपी ओली हामीले ल्याएको गणतन्त्रमा दुई चोटी प्रधानमन्त्री बन्नु भयो । गणतन्त्र विरोधी विद्या भण्डारी दुई चोटी राष्ट्रपति हुनु भयो ।

प्रक्रियाबाट हुनु भयो त्यसमा हाम्रो आपत्ति भएन । तर गणतन्त्रमा प्रधानमन्त्री भइसके पछि गणतन्त्रको विरोध गर्न मिल्दैन । राष्ट्रपति भइसके पछि लाल सम्राट बनेर, नयाँ शाही शासक बनेर गणतन्त्रको बदनाम गर्न मिल्दैन ।’ कांग्रेसले आज देशैभर सरकारविरुद्ध सडकमा उत्रेर विरोध प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा काँग्रेस नेता प्रदिप पौडेलको नेतृत्वमा महेन्द्रनगरमा पनि विरोध प्रदर्शन भएको हो । पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन महेन्द्रनगर बजार परिक्रमा गर्दै स्मारकमा कोण सभामा परिणत भएको थियो ।

सम्बन्धित शीर्षकहरु