महेन्द्रनगर । संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।
कञ्चनपुरमा पनि नेपाली कांग्रेसले तीन वटै निर्वाचन क्षेत्रमा पर्दशन गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभा विघटन गरेर मुलकलाई अस्थिरतातर्फ धकल्ने खोजिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजनामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिष्ट सरकारले जनताको विश्वास कुल्चेर मुलुकमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए ।
‘५ वर्षका लागि नेपाली जनताले गरेको विश्वास, भरोसालाई कम्युनिष्ट सरकारले खण्डित गरेको छ । २ तिहाई बहुमत रहेको संसद हठात् विघटन गरेर जनताले अनुमान नगरेको दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको छ’ नेता लेखकले भने,‘प्रतिनिधि सभाको हठात् विघटन गर्ने कार्य अधिनायकवादी, निरुन्कुसतावादीको परिणाम हो् ।
यसले मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने दुश्साहस गरिएको छ ।’ नेकपाको आन्तरिक विवादले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको उनले बताए । कांगेसका केन्द्रीय सदस्य समेत रहेका नेता लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘देशमा ल्याउँछु भनेको स्थायित्व यही हो ?’ भनी प्रश्न गरे ।
उनले थपे, ‘चुनावताका दुई वटा पार्टी मिलाएर देशलाई स्थिरता दिन्छु भन्नु भएको थियो। आज तपाईंहरुले नेपाली जनतालाई जवाफ दिने कि नदिने ? के नेपाली जनताले चाहेको स्थिरता यही हो ?’ उनले प्रश्न गरे, ‘जनताको जनमतको घोर अपमान भएको छ ।’ कोरोना नियन्त्रणमा सरकारले कुनै काम गर्न नसकेको बरु भ्रष्टाचारमा लिप्त रहेको कांग्रेस नेता लेखकको आरोप छ ।
नेकपा विभाजनको संघारमा रहेका बेला आन्तरिक द्वन्द्व मिलाउन विदेशी शक्ति सक्रिय भएकोले कम्युनिष्टको राष्ट्रवाद छर्लङ्ग भएको उनले बताए । ‘भागबण्डाको झगडाले पार्टी फुट्ने स्थितिमा छ, पार्टी भित्रै कुटाकुट सुरु भएको छ । त्यसलाई मिलाईदिन विदेशी आइदिनु प¥या छ । राष्ट्रवादको यो भन्दा ठूलो मजाक केही हुन्छ ?’ नेता लेखकले भने, ‘कम्युनिष्ट बाहेक कोही राष्ट्रवादी छैनन् भन्ने राष्ट्रवादको धङधङती हिजै मात्रै खुस्किसकेको छ ।’