महेन्द्रनगर ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेस निर्वाचनमा जान तयार रहेको बताएका छन् ।
आइतवार महेन्द्रनगरमा आयोजित लोकतन्त्रवादी पूर्व–कर्मचारीहरुसंग परिचयात्मक तथा समसामयिक विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता लेखकले कांग्रेस चुनावदेखि नडराउने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेर देशलाई अनिश्चितता र अन्यौलतातर्फ लैजान खोजिएको उनको भनाई छ ।
‘कम्युनिष्ट अधिनायकवादी चिन्तनबाट हठात् संसद विघटन गरिएको छ । यो असंवैधानिक, अलोकतान्त्रिक छ ।’ उनले भने, ‘यसको जिम्मेवारी कम्युनिष्ट पार्टीले लिनुपर्छ ।’
संसद पुनःस्थापना भयो भने संसद भित्र कांग्रेसले रचनात्मक भूमिका खेल्ने उनले बताए । त्यसो नभएर चुनावमा जानु पर्ने भए पनि कांग्रेस चुनावदेखि नडराउने कांग्रेस केन्द्रिय सदस्य समेत रहेका लेखकले बताए ।
‘प्रतिनिधि सभाको गठन आवश्यक छ । निर्वाचनबाट हुन्छ वा संसद पुनःस्थापना पनि हुनसक्छ ।’ नेता लेखकले भने, ‘यो दुवै पनि नहुन सक्छ । यस्तो भयो भने मुलक अन्यौल र अराजकतातर्फ जाने खतरा बढ्छ । यस्तो भयो भने हामी संविधानको रक्षा गर्न जस्तो सुकै कदम पनि चाल्न बाध्य हुने छौँ ।’