ओलीलाई एनपी साउदको प्रश्न – चीनले सीमा मिच्दा किन बोल्न सक्नुभएन ?

  सोमबार ०३, फागुन २०७७ ०५:५९

दार्चुला । 
नेपाली कांग्रेसका नेता एनपी साउँदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले हुम्लामा सीमा मिच्दा नबोलेको भन्दै प्रश्न गरेका छन् ।

दार्चुला सदरमुकाम खलंगामा सोमबार आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि एक इन्च मिचिए पनि सैह्य नहुने बताएका हुन् ।

‘अहिले पनि सीमामा गतिविधिहरु भइराखेका छन् । ती सीमामा भइराखेका गतिविधिका क्रममा नेपालको सीमा एक इन्च पनि कसैले मिच्छ भने त्यसको विरोध गर्नका लागि, जाइ लाग्नका लागि नेपाली कांग्रेस तयार छ,’ नेता साउँदले भने । उनले राष्ट्रियताका लागि संघर्ष गर्दै आएका दार्चुलावासीप्रति सम्मानसमेत व्यक्त गरे ।

‘म दार्चुलाका दाजुभाइ दिदीबहिनीहरुले राष्ट्रियताका मामिलामा जसरी संघर्ष गर्नुभएको छ, लड्नुभएको छ । त्यसलाई सम्मान गर्न चाहन्छु, सलामा गर्न चाहन्छु,’ नेता साउदले भने ।

उनले हुम्लामा चिनियाँ पक्षले नेपाली भूमि मिच्दा सरकारले प्रतिवाद गर्न नसकेको भनदै आपत्तिसमेत जनाए ।

‘भारतसँग सीमा विवाद हुँदा नक्सा संशोधन गर्ने तपाईं हो । भारतसँग सीम विवाद हुँदा कूटनीतिक मञ्चमा आवाज नठाइकन तपाईंहरु आमसभामा जनतालाई उत्तेजित बनाउने काममा संलग्न हुनुभयो,’ नेकपाका नेता र सरकारप्रति लक्षित गर्दै साउदले भने, ‘चीनले हुम्लामा सीमा मिच्दा किन बोल्न सक्नुभएन ? भारतले सीमा मिच्दा जति खराब हो, चीनले पनि सीमा मिच्छ भने त्यत्तिकै खराब हो ।’

उनले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने बताए । ‘नेपाली कांग्रेस विधिको शासन मान्छ । कानुनको शासन मान्छ । सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्छ । सर्वोच्च अदालतको निर्णय बमोजिम नेपाली कांग्रेस अगाडि बढ्ने छ,’ नेता साउदले भने ।

उनले प्रतिनिधि सभा विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्रै दोषी नभएर पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि उत्तिकै दोषी भएको दाबी गरे ।

‘यो सरकारले गरेको काम एक व्यक्ति केपी ओललिे गरेको होइन । यसमा प्रचण्ड पनि, माधव नेपाल पनि, भलनाथ पनि, वामदेव गौतम पनि सबै दोषी छन् । यो दोषको जिम्मा प्रचण्ड खेमा होस वा ओली खेमा, दुबैले लिनुपर्छ,’ नेता साउदले भने ।
 

सम्बन्धित शीर्षकहरु