महेन्द्रनगर । सांसद पुनःस्थापनपछि उत्साहित बनेको प्रचण्ड– नेपाल समूह आफ्नै पक्षका नेतामाथि वेवास्ता गर्न थालेको छ । प्रचण्ड नेपाल समूहले बुधबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै समूहका नेतालाई वेवास्ता गरी अपमान गरेको हो ।
नेकपाको निर्वाचन क्षेत्र नंं. २ का संयोजक रण बहादुर महरा बुधबारको पत्रकार सम्मेलनमा आफ्नै समूहबाट अपमानित भएका छन् । उनलाई पत्रकार सम्मेलनमा आशनग्रहण समेत नगराई अपमानित गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रचण्ड नेपाल समूहका नेता र जनवर्गीय संगठनका पदाधिकारीलाई समेत आशन ग्रहण गराइएको थियो । उनको आशन ग्रहण नभएपछि केही समयपछि कार्यक्रम स्थलमै गुनासो समेत आएको थियो ।
आशन ग्रहण नगराएपनि महराले भने यसबारे आफूलाई केही मतलब नभएको बताए । ‘यस विषयमा केही बोल्दैन्,’ उनले भने, ‘कसैले दबाउँदैमा म दबिदैन्, निरन्तर पार्टीको काम गरि रहन्छु ।’
पूर्व एमालेबाट नेपाल समूहका कट्टर महरा क्षेत्र नं. २ मा प्रभावशाली नेता मानिन्छन् । पूर्व एमाले र माओवादी केन्द्र एकीकरणपछि सचिवमा आकांक्षा देखाएपछि महरालाई पूर्व नेपाल समूह असन्तुष्ट बनेको हो । भीमदत्तका मेयर सुरेन्द्र विष्टसित नजिक भएका कारण पनि प्रचण्ड–नेपाल समुह उनलाई एक्ल्याउन थालेको नेताहरु बताउँछन् ।
नेता महरा जिल्ला कमिटी सदस्य भएकाले आसनग्रहण नगरिएको नेकपा कञ्चनपुरका सचिव तारालामा तमाङले बताए । ‘त्यो कार्यक्रममा अरु पनि धेरै जिल्ला कमिटी सदस्य थिए,’ उनले भने, ‘उहाँ जिल्ला कमिटी सदस्य हो, त्यसैले आसन ग्रहण गराएनौं ।’
प्रचण्ड माधब समुहले बुधबार तरालामा तमाङको अध्यक्षतामा पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रम सञ्चालन देबेन्द्र ढुङ्गानाले गरेका थिए ।
अपमान कि वेवास्ता !
संसद विघटनपछि नेकपा प्रचण्ड–नेपाल समूहमा जिल्ला इन्चार्ज बिक्रम बहादुर शाही, जिल्ला सचिव तारालामा तामाङ्ग लगायतका नेताको उप समूह छ । यो समूहलाई पूर्व एमालेका प्रकाश रावल, रबिन्द्र कुँबर, पूर्व माओवादी केन्द्रका देबेन्द्र ढुङ्गानाले साथ दिएका छन् ।
यो समूहको कमाण्ड जिल्ला सचिव तामाङ्गले सम्हालि रहेका छन् । उनीहरु आफ्नै समूहका नेतालाई पाखा लगाउन सक्रिय रुपमा लागेका छन् । पत्रकार सम्मेलनमा पूर्व एमाले उप सचिव महरालाई आसन ग्रहण नगराई विषय उनलाई पूर्व नेपाल समूहबाट लखेट्ने खेलका रुपमा हेरिएको छ । नेकपाको निर्वाचन क्षेत्र नं. २ का संयोजक महरालाई नेकपाको भावी जिल्ला सचिवका रुपमा समेत हेरिएको छ । महरा सचिव हुने भएपछि यो समूह उनलाई लखेट्न लागि परेको नेकपा नेताहरु बताउँछन् ।
महरा पूर्व एमालेका जिल्ला सचिव सुरेन्द्र विष्ट नजिकका मानिन्छन् । भीमदत्त नगरपालिकाका मेयर विष्ट केही दिन अघि मात्रै प्रचण्ड नेपाल समूह छाडेर ओली समूहमा गएका थिए । उनी नेकपा ओली समूहको जिल्ला सचिव भई सकेका छन् ।
विष्ट ओली समूहमा गएपछि महरा लगायत विष्ट नजिकका नेतामाथि प्रचण्ड नेपाल समूहले आशंका गर्न थालेको छ । विष्ट ओली समूहको जिल्ला सचिव भएपछि क्षेत्र नं. ३ मा प्रचण्ड नेपाल समूह ठूलो अप्ठेरोमा परेको छ ।
विष्टको नेता कार्यकर्तामा बलियो पहुँच छ । विष्टका कारण प्रचण्ड नेपाल समूहका महरा लगायतका नेतालाई आफ्नो समूहबाट हटाउन लागि परेको छ । महरालाई हटाउने खेल पत्रकार सम्मेलनबाट सुरु भएको एक नेताले बताए । ‘यो समूह विष्ट लगायतका नेतासित पहिलादेखि नै सुरु असन्तुष्ट थियो, अहिले मेयरले समूहले नै छाडेपछि झन शंका बढाएको छ’ नेकपा एक नेताले भने,‘अहिले विष्ट नै उता गएपछि अब वहाँहरुलाई पनि बाहिर पठाउन यस्तो गरिएको हुन सक्छ ।’
मेयर विष्ट पूर्व एमालेमा सचिव हुँदा महरा उप सचिव थिए । प्रचण्ड नेपाल समूहका जिल्ला सचिव तामाङ्गको प्यानलबाट उनी दुबै एमालेको सचिव र उप सचिवमा निर्वाचित भएका थिए । पूर्व एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपामा महरालाई सचिव बनाउन विष्ट सक्रिय भएका थिए । विष्ट पछिल्लो पटक टेकेन्द्र प्रसाद भट्टलाई अध्यक्ष र महरालाई सचिव बनाउनु पर्ने पक्षमा थिए ।
नेकपाको प्रचण्ड नेपाल समूह भने तामाङ्गलाई अध्यक्ष बनाएर माओवादी केन्द्रका देबेन्द्र ढुङ्गानालाई सचिव बनाउन भीम रावलसम्म लबिङ्ग गरेका थिए । त्यस्तो लबिङ्ग गर्नेमा पूर्व एमालेका केही नेता लागि परेका थिए । माओवादी केन्द्रले अध्यक्ष नछाड्ने भएपछि पूर्व ढुङ्गानालाई सचिव बनाउने मिसन निरर्थक बन्न पुगेको छ ।
ढुङ्गानाले पूर्व माओवादीबाट अध्यक्षमा दाबी गरेका छन् । उनलाई पूर्व एमालेका भीम रावलको बलियो साथ रहेको नेताहरु बताउँछन् ।
अध्यक्षका आकांक्षी अनुपस्थित
प्रचण्ड नेपाल समूहले बुधबार गरेको पत्रकार सम्मेलनमा नेकपाको जिल्ला अध्यक्षका आकाँक्षी टेकेन्द्र प्रसाद भट्ट अनुपस्थित भएका छन् । नेकपाको प्रचण्ड नेपाल समूहका अधिकाँश नेता सहभागी कार्यक्रममा भावी अध्यक्षमा सिफारिश भट्टको अनुपस्थितिलाई अर्थपूर्ण हेरिएको छ ।
पूर्व माओवादी केन्द्रबाट अध्यक्षका लागि भट्ट सहित देबीलाल चौधरी, देबेन्द्र ढुङ्गाना र कमल क्षेत्री सिफारिश गरिएका छन् । उनीहरुमध्ये चौधरी र ढुङ्गाना पत्रकार सम्मेलनमा सहभागी थिए । क्षेत्री काठमाडौंमा भएकाले उपस्थित हुन नसकेको नेकपा नेताहरुको भनाई छ ।
नेकपाको जिल्ला अध्यक्ष हुन भट्टलाई सुदूरपश्चिम सह इन्चार्ज खगराज भट्ट, चौधरीलाई पूर्व मन्त्री विना मगर र ढुङ्गानालाई भीम रावलको साथ रहेको नेताहरुको भनाई छ । भट्ट पत्रकार सम्मेलनमा अपमानित गरिएका महराका गृह नगरका वासिन्दा हुन् । अहिले भट्ट र महरा एकसाथ छन् ।