कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा फस्दैनः एनपी साउद

  आइतबार १६, फागुन २०७७ ११:३९

काठमाडौं । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले कांग्रेस क्षणिक स्वार्थका लागि सत्ताको खेलमा नफस्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गोपालदत्त जोशी स्मृति पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समारोहलाई सम्बोधन गर्दै नेता साउदले कम्युनिस्टहरुले सर्वोच्चको फैसलाअघि पनि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे पनि सभापति देउवाले यस्तो अवस्थामा क्षणिक स्वार्थका लागि कांग्रेस सत्तामा नजाने प्रतिक्रिया दिएको बताएका छन् ।

उनले भने, “कम्युनिस्टहरुले आफूले देश चलाउन नसकेपछि र आन्तरिक भागबण्डा नमिलेपछि संसद् विघटन गरे । संसद् विघटपछि एउटा पक्षले सर्वोच्च अदालत पुग्यो । नेकपाका दुई समूह ओली र प्रचण्ड–माधवले सर्वोच्चको फैसला आउनु अघि र पछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुप¥यो भनेर प्रस्ताव ल्याउनु भएको थियो । तर, सभापतिज्यूले कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा भएको प्रतिक्रिया दिनुभएको थियो ।

 

सर्वोच्चको फैसलापछि पनि मुलुकमा राजनीतिक गतिरोध अन्त्य नभएको उल्लेख गर्दै नेता साउदले गतिरोध अन्त्यको स्थायी समाधान निर्वाचन नै भएको बताएका छन् । उनले थपे, ‘नेकपाले एक छौं अथवा अलग भयौं भने क्लियर नगरेसम्म राजनीतिक जटिलता यथावत नै रहनेछ । नेकपाको कित्ता क्लियर नभएको अवस्थामा मुलुकमा राजनीतिक दलहरुको टुटफुट र जोडजाममा बनेको सरकारले काम गर्न सक्दैन ।

त्यसकारण सभापति देउवाले जोडजामको सरकार बनाउने पक्षमा हुनुहुन्न ।’ कांग्रेस लहडमा लागेर सरकारमा नजानेसमेत बताएका छन् । उनले भने, ‘कांग्रेस लोकतन्त्र, संविधान र मुलुकको स्थायीत्व चाहन्छ । कांग्रेस नेपाली जनताको हकहितका लागि लड्ने पार्टी हो र लड्छ ।

अब बन्ने सरकार पनि अस्थिर सरकार नै बन्छ । यसले फेरि ६ महिना र नौ महिनाको प्रवृति दोहोरिन्छ र मुलुकलाई झन क्षति हुन्छ । त्यसकारण स्थायी समाधानको विकल्प नै निर्वाचन हो ।’
 

सम्बन्धित शीर्षकहरु