विद्यालयको गुणस्तर उकास्‍न पहल गर्छौ : एनपी साउद

  शनिबार २९, फागुन २०७७ ०७:३५

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पहल गर्ने बताएका छन् । नेपाल शिक्षक संघ कञ्चनपुरको जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता साउदले कांग्रेस सरकारमा गए बाल विकास, विद्यालय कर्मचारीको तलब वृद्धिका साथै समग्र शिक्षाको पेशागत हकहित र सामाजिक सुरक्षा कायम गरिने बताएका हुन ।

“सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि पार्टीका तर्फबाट पहल गर्छु,” उनले भने, “शिक्षकको पेशागत एकरुपता कायम गर्छुँ ।” पूर्वमन्त्रीसमेत रहेका नेता साउदले शिक्षामा सुधार आवश्यक रहेको औंल्याए । त्यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

शनिबार महेन्द्रनगरमा शिक्षक संघको जिल्ला प्रतिनिधि सभामा बोल्ने वक्ताहरुले समाज र देश निर्माणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने गरेको बताएका छन् । शिक्षक अँध्यारोबाट ज्योति फैलाउने शक्ति भए पनि वर्तमान सरकारले सामुदायिक सरकारी शिक्षामा वेवास्ता गरेको उनीहरुको टिप्पणी थियो ।

कार्यक्रममा पूर्वशिक्षक नेता एवम् टे«ड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेशमा अध्यक्ष सिद्धराज भट्टले मजदुरले दैनिक काम गरेवाफत चार सय ४८ रुपैयाँ न्यूनतम ज्याला पाउँदा बाल विकास र विद्यालय कर्मचारीले अझै पनि मजदुरसरह ज्याला नपाएको बताए । सामुदायिक विद्यालयको विकासका लागि बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको समेत योगदान हुने भएकाले सरकारले त्यसलाई वास्ता नगरेको उनको भनाइ थियो ।

नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्खबहादुर मल्लले राहत शिक्षक, बाल विकास, विद्यालय कर्मचारी तलब वृद्धिका साथै समग्र शिक्षकको पेशागत हकहितका लागि संघले पहल गर्दै आएको बताए । संघकै पहलमा बाल विकास, विद्यालय कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिने भनेर सरकारले सम्झौता गरे पनि हालसम्म नदिएकोप्रति उनले गुनासो गरे ।

कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले शिक्षकको समाज विकासका लागि महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने र समाजिक सुुरक्षाको ग्यारेन्टी लिनुपर्ने बताए । संविधान सभा सदस्य बहादुरसिंह थापाले शिक्षा क्षेत्रका समस्या हल गर्दै देश विकासमा जुट्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षक संघले क्रियाशील र वरिष्ठ शिक्षकहरुलाई सम्मान गरिएको थियो । शिक्षक संघ कञ्चनपुरका अध्यक्ष गणेशबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवीनसिंह धामीले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु