महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया गत साताबाट सुरु भइसकेको छ। कांग्रेसको निर्धारित कार्यतालिका अनुसार कञ्चनपुरमा वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ। भदौ २७ गतेदेखि नगर र गाउँपालिका तहको अधिवेशन सम्पन्न हुने जनाइएको छ।
कञ्चनपुरको सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाको नेतृत्वका लागि युवा नेता आशिष खत्रीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। जिल्लामा सबैको ध्यान भिमदत्त नगरपालिकाको सभापति को बन्छ भन्नेतर्फ तानिएको समयमा युवा नेता आशिष खत्रीले आफ्नो उम्मेदवारी घोषणा गरेपछि उनको प्रतिष्पर्धीको रुपमा अच्युत कलौनी देखिएका छन्।
२५ वर्षअघि नै क्रियाशील सदस्यता लिएका खत्रीले नगरपालिकाको नेतृत्वमा आएपछि स्वच्छ छविको कांग्रेस र सबैको रोजाइको कांग्रेस बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, 'नेपाली कांग्रेसको मुल आदर्श प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई अंगिकार गर्दै राजनीतिक जीवन सुरु गरेको २५ वर्षपछि मैले नगरपालिकाको नेतृत्वका लागि दाबी प्रस्तुत गरेको छु । पार्टीमा रहेका अग्रजहरुको साथमा युवापुस्तालाई आफूसँग डोर्याएर आफ्नो अनुभवलाई उपयोग गर्नका लागि नेतृत्वमा मैले दाबी गरेको छु।'
'पार्टीको यस महाधिवेशनले युवालाई अघि बढाउँदै जुन नेतृत्वको अवसरका लागि ढोका खोलि दिएको छ,'उनले थपे, 'यस ढोकाबाट गलत व्यक्ति छिर्न नपाउन र पैसाको लोभ देखाएर प्रतिनिधिहरु खरिद गर्ने र पार्टी नेतृत्वमा पुग्ने अनि त्यहाँ पुगेर कमाउधन्दामा लाग्नेहरुविरुद्ध मैले उम्मेदवारी प्रस्तुत गरेको छु।'
उनले पैसा बाँडेर मत किनेको व्यक्तिले मतदाताको सम्मान गर्न नसक्ने उल्लेख गर्दै त्यस्ता पैसा बाँड्ने उम्मेदवारलाई यसपटक चुनौती दिन पनि आग्रह गरेका छन्। उनले भने, 'केही व्यक्तिहरुले प्रतिनिधिहरुलाई पैसाको लोभ देखाएको हुनसक्छ। त्यस्ता व्यक्तिबाट सजग रहनुहोला। ती व्यक्तिले भोलि तपाईंको सही नेतृत्व गर्न सक्दैनन् र तपाईंलाई धोका दिनेछन्, पार्टीलाई धोका दिनेछन्। पार्टीको नाममा व्यक्तिगत आर्जनमा उनीहरुको ध्यान जानेछ।'
उनले मतदातालाई स्वविवेकले योग्य उम्मेदवारलाई मात्रै मतदान गर्न आग्रह गरेका छन् । उनले मतदाताको सही सम्मान हुने, पार्टीको छवीलाई सुधार्न सक्ने सक्षम नेतृत्वलाई मतदान गर्न उनले प्रतिनिधिहरुसँग आग्रह गरे ।