गणेश सिंह नेगी र महेश चन्द नेतृत्वको प्यानल घोषणा, ‘कांग्रेसलाई गुट–उपगुट रहित पार्टी बनाउँछौँ’

  सोमबार २९, कार्तिक २०७८ ०२:०२

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर ३, क्षेत्रिय समितिको सभापतिमा युवा नेता गणेश सिंह नेगी र क्षेत्र नम्बर ३ ‘क’ प्रदेश सभा समितिको सभापतिमा नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष समेत रहेका युवा नेता महेश चन्दले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै युवा नेता नेगी र चन्दले आ–आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

यस्तै जिल्लामा मंसिर ३ गते प्रदेश सभा र मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन तोकिएको छ ।  महाधिवेशन नजिकिदै गर्दा केन्द्रदेखि गाउँ–गाउँसम्मको चहलपहल बाक्लिएको छ । कांग्रेस नेताहरुले महाधिवेशनमा नेतृत्वमा आउन तथा पदाधिकारी बन्न आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।

नेता नेगीको  प्यानलबाट सचिवमा भीमदत्त नगरपालिकाकी उप–प्रमुख समेत रहेकी सुशिला चन्द सिंह,बलराम पन्त र सह–सचिवमा विकाश श्रेष्ठलाई खडा  गरिएको छ ।

यस्तै क्षेत्र न.३ ‘क’ प्रदेश सभा समितिको सभापति पदका उम्मेद्धवार चन्दको प्यानलबाट उपसभापतिमा विर बहादुर महरा,महेन्द्र देउवा,सचिवमा उत्तम कुमार बोहरा र सरला खड्कालाई उम्मेद्धवार बनाइएको छ । त्यस्तै सह–सचिवमा गणेश बहादुर बम र टेक बहादुर विष्ट खडा गरिएको छ ।

बाकीँ रहेका पदका लागि पनि छिट्टै उम्मेद्धवारी खडा गर्ने युवा नेता नेगीले बताए ।

कांग्रेसलाई गुट, उपगुट रहित बनाएर बलियो र सुदृढ बनाउन क्षेत्रिय सभापतिमा उम्मेदवारी दिएको नेता नेगीले बताए । ‘काँग्रेसलाई गुट, उपगुट रहित बनाउन यो टिम खडा गरेका छौ ।’ उनले भने ।

यस्तै प्रदेश सभा ‘क’ समितिको सभापति पदका उम्मेद्धवार चन्दले काँग्रेसलाई थप ससक्त र सक्रिय बनाउन प्रदेश सभा ‘क’ को सभापति पदमा उम्मेद्धवारी दिएको बताए । ‘नेपाली काँग्रेसलाई थप ससक्त र सक्रिय बनाउन क्षेत्र न.३ ‘क’ प्रदेश सभा समितिमा यो टिम घोषणा गरेका हौ ।’
 

सम्बन्धित शीर्षकहरु