महेन्द्रनगर । सरकारका पछिल्ला गतिविधिबिरुद्ध नेपाली कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । केन्द्रिय कार्ययोजना अनुसार नेपाली कांग्रेस कञ्चनपुरले पनि महेन्द्रनगरमा प्रदर्शन गर्ने भएको हो । प्रदर्शनको तयारी तिब्र रुपमा भइरहेको नेपाली कांग्रेस कञ्चनपुरका सभापती हरिप्रसाद बोहराले बताए ।
सरकारले देशलाई भष्ट्राचारमा डुबाएको, २ बर्षअघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको हत्यारालाई अहिलेसम्म सार्वजनिक गर्न नसकेको, विश्वभर माहामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) संग लड्नका लागि सरकारले आम जनताका लागि केहि गर्न नसकेको, उल्टै कोरोनाका नाममा भष्ट्राचारलाई मलजल गरेकोले देशव्यापी रुपमा प्रदर्शन गर्न लागिएको उनी बताउँछन् ।
नेपाली कांग्रेस कञ्चनपुरले २९ गते सरकारका बेथितीबिरुद्ध गर्ने प्रदर्शनमा सहभागी हुन उनले अनुरोध गरे । ‘आम जनताकासामु सरकार निरीह र नालायक बन्दै गरेको अवस्थामा नेपाली कांग्रेसले देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको हो,’ उनले भने, ‘यो कार्यक्रम सबै जिल्लामा हुन्छ ।’
कम्युनिष्ट सरकारको समयावधीमा भष्ट्राचार, अन्याय, अत्याचार र जनतामाथिको दमन बढिरहेकोले जनता सडकमा उत्रिन लागेको उनको दाबी छ । सरकारलाई सजक गराउनका लागि यो आन्दोलन आवश्यक रहेको सभापति बोहरा बताउँछन् ।
नेपाली कांग्रेसले आम जनतामा कोभिड–१९ को ‘भ्याक्सीन’ पु¥याउन समेत यहि आन्दोलनको कार्यक्रममार्फत दबाब दिने जनाएको छ । सोमवार महेन्द्रनगरमा हुने प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पुर्व अध्यक्ष प्रदिप पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सभापति बोहराले बताए ।
सोमवारको आन्दोलन कार्यक्रम मध्यान्न साढे १२ बजे पार्टी कार्यालयबाट महेन्द्रनगर बजार परिक्रमा गरी बिरोध सभामा परिणत हुने जनाइएको छ । महेन्द्रनगर बजार परिक्रमा पश्चात महेन्द्र स्मारकमा केन्द्रीय सदस्य पौडेलले कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।